Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि सभा पुनर्स्थापनामा एमाले लागिसक्यो, कांग्रेसले पनि साथ दिनुपर्छ : ओली

प्रतिनिधि सभा पुनर्स्थापनामा एमाले लागिसक्यो, कांग्रेसले पनि साथ दिनुपर्छ : ओली

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन भएको संसद फिर्ता गराउने बताएका छन्। आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले एमाले तत्कालै संसद फिर्ता गराउन लाग्ने बताउँदै यसमा नेपाली कांग्रेसले पनि साथ दिनुपर्ने बताए । उनले भने–देशको लोकतान्त्रिक बाटोमा फर्काउन असंवैधानिक ढंगले विघटन भएको संसद फिर्ता गर्ने मागलाई राखेर अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन। मैले विश्वास लिएको छु कांग्रेस पनि यहि बाटोमा अगाडि बढाउने छ। एमाले यहि बाटोमा अगाडि बढ्नेछ। अन्य पार्टी पनि लाग्नेछन्।’

असंवैधानिक बाटोलाई मान्यता दिँदा देश बर्बाद हुने बताउँदै ओलीले भने–‘अर्को बाटो छैन। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउने। असंवैधानिक बाटोलाई मान्यता दिँदा देश बर्बाद हुन्छ। पछि ढिला भएछ भनेर पछुतो मान्छन्।’

ओलीले वर्तमान सरकारले राजनीतिक दललाई दमन गर्न खोजिरहेको दाबी गरे।

कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् । उनले भने–‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला । संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुपर्‍यो फागुन २१ गते ? पर्खनु परेको छैन ।’

प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले विश्वास गरे । ‘हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ,’ उनले भने ।

सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गर्दै उनले भने–‘असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्‍यो ? कहाँबाट प्राप्त गर्यो ?’

संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए । उनले भने–‘संविधान र संसद् कायम राखेर निकास खोजौं, त्यसमा त्यति बेलाको निर्णायक तत्वहरूको पनि सहमति थियो । मसँग कुरा हुँदा संविधान कायम राख्ने संसद् कायम राख्ने र संविधान र संसद्भित्रबाट निकास खोज्ने सबैको सहमति थियो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077