काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसद् पुनर्स्थापनाको बाटोमा जानुपर्ने बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले संसद् फर्काउने मागमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने-'देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? किन पर्खनुपर्यो फागुन २१ गते ? पर्खनु परेको छैन ।'
संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए ।
आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नभए मात्र संसद् पुनर्स्थापनाको माग गर्नुपर्ने सुनिएको भन्दै उनले त्यसलाई पर्खनु नपर्ने बताए ।
उनले नेपाली कांग्रेस पनि सोही बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।