काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीकी प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरेको छ ।
बिदा स्वीकृत नगराई लामो समयदेखि सिटौला कार्यालयमा उनुपस्थित रहेपछि उनलाई सेवाबाट हटाउने तयारी भएको हो ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सिटौला गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाएको छ ।
‘बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रही सम्पर्क स्थापित गर्न नसकिएको र तपाईँले पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य गरेको देखिएको हुँदा तपाईँलाई सशस्त्र प्रहरीको नियमावली अनुसारको कसुरमा विभागीय कारबाही गर्न लागिएको व्यहोरा सूचित गरिन्छ । तपाईँउपर विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कारणसहित सफाई पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।