काठमाडौं । भ्रष्टाचार, नातावाद र शासन प्रणालीका बेथितिविरुद्ध आन्दोलन गर्दै आएका युवाहरूका विभिन्न समूहसँग सरकारले शनिबार साँझ विस्तृत छलफल गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा चलेको उक्त बैठकमा सबै आन्दोलनकारी समूहहरूलाई एकै ठाउँमा राखिएको थियो।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की स्वयं सहभागी नभएपनि उनको सचिवालयको संयोजनमा बैठक सम्पन्न भएको बताइएको छ ।
सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठ उपस्थित थिए।
‘जेन–जी’ आन्दोलनका नाममा हाल विभिन्न समूहहरू देखा परेपछि सरकारले तिनका धारणा र माग बुझ्न सबैलाई एउटै मञ्चमा बोलाएको थियो। स्रोतका अनुसार पाँच फरक समूहबाट करिब २५ जना युवाको सहभागिता थियो।
छलफलमा सुदन गुरुङ, रक्षा बम, बब्लु गुप्ता र अभिषेक श्रेष्ठ नेतृत्वका समूहहरूका साथै सहिद परिवारका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।