काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को प्रधान कार्यालयले आफू मातहतका सबै कर्मचारीलाई भोलि हाजिर हुन निर्देशन दिएको छ ।
शनिबार एक निर्देशनमार्फत एपीएफले दसैँ बिदामा कर्मचारीलाई सबैभन्दा नजिकको सशस्त्र प्रहरी बलको युनिट तथा कार्यालयमा भोलि बिहान १० बजेभित्र अनिवार्य हाजिर हुन निर्देशन दिएको हो ।
बाढी, पहिरो र विपद् जोखिमका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा घोषणा गरे पनि सुरक्षा निकायका कर्मचारी सदैव परिचालन हुनुपर्ने भएकाले निर्देशन जारी गरिएको एपीएफले जनाएको छ ।
हाजिर भएका कर्मचारीहरूलाई विपद् उद्धार कार्यमा परिचालन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ ।
तोकिएको मितिमा हाजिर नहुने कर्मचारीलाई विपद् उद्धार कार्यमा परिचालन हुन नसकेको ठहर गर्दै सशस्त्र प्रहरी नियमानुसार कारबाही गरिने पनि चेतावनी दिइएको छ ।