काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्को बेला मानवीय सेवा र सहयोगमा जुट्न सबैमा अपिल गरेको छ ।
कार्यवाहक सभापति डिपी अर्यालले स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न पार्टीको केन्द्रीय, प्रादेशिक, जिल्ला एवं पालिका तहसम्मका द्रुत कार्य समूहलाई निर्देशन दिएका हुन्
अर्यालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्- 'अविरल वर्षादबाट देशैभर जल उत्पन्न विपद् जोखिम उच्च रहेको अवगतै छ। जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अझै केही दिन अधिक वर्षाको सम्भावना रहेको औँल्याएको छ। जारी वर्षासँगै बाढी, पहिरो, डुबानजस्ता विपद्का घटना बढ्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने भएकाले विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचना अनुसार गर्नरगराउनु हुन सबैलाई अनुरोध गर्दछौं।'
साथै, उनले नदीरखोला तटीय क्षेत्र आसपासका क्षेत्रमा बस्ने र स्थलमार्ग प्रयोग गर्ने सम्पूर्ण यात्रुहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
घाइतेको उपचार, प्रभावितको व्यवस्थापन, राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरी आफ्नो सीप र दक्षता अनुसार सक्रियतापूर्वक जुट्न रास्वपाले सम्पूर्ण पार्टी पंक्तिलाई द्रूत कार्य समूहसहित पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा विशेष आह्वान गरेको छ ।