काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशन अघि नै पार्टीको नेतृत्व छाड्न सुझाव दिइएको छ । नेपाल बौद्धिक परिषदले असोज २ गते बुझाएको सुझाव पत्रमा ओलीलाई महाधिवेशन नकुरी नेतृत्व छोड्न सुझाव दिएको हो।
असोज १ गते गजेन्द्रप्रसाद थपलियाको अध्यक्षतामा बसेको बौद्धिक परिषद सचिवालय बैठकले वर्तमान परिस्थितिबारे समीक्षा गरी महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको पत्रमा ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशन समेत कुर्न नहुने उल्लेख छ।
सुझाव पत्रमा भनिएको छ- 'विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ । पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नु पर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधीनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ ।'
सुझावमा केन्द्रीय कमिटीबाटै विधान बमोजिम नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न भनिएको छ । असोज १२ गते ओली निवास गुन्डुमा बसेको एमालेको सचिवालय बैठकमा पनि अधिकांश पदाधिकारीले नेतृत्व परित्याग गर्न सुझाव दिएका थिए।