काठमाडौं । मधेश प्रदेशका आठ जिल्लाहरूमा समयमै वर्षा नहुदा यहाँका किसानहरू खडेरी र सुख्खाको मारमा परेका छन।
धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावणसम्म पनि रोपाइँ गर्न पाएका छैनन् ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ ।
त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ ।
सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । श्रावण ७ गते मन्त्रीपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।