Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

एसएसपी अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा साक्षी बन्ने अवसर मिल्यो : प्रधानमन्त्री ओली

एसएसपी अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा साक्षी बन्ने अवसर मिल्यो : प्रधानमन्त्री ओली

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको नेपालकै पहिलो ओभरपास उद्घाटन गरिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपासको रिबन काटेर उद्घाटन गरे ।

उक्त ओभरपासको प्रधानमन्त्रीले नै उद्घाटन गर्ने तय भएपनि अन्तिममा ओलीले एसएसपी अधिकारीलाई रिवन काट्न लगाएका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा ट्राफिक जाम अन्त्य गर्ने कोसिस गरिरहेको समेत बताए । त्यतिमात्रै होइन प्रधानमन्त्री ओलीले उपत्यकाका अन्य ठाउँमा त्यस्ते ओभरपास पनि बनाउने घोषणा गरे ।

ओभरपास उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरी प्रमुखलाई रिवन काट्न लगाएका प्रधानमन्त्री ओलीले सरकारले एउटामात्रै क्षेत्रमा नभइ देशका अनेकन क्षेत्रमा विकासका कामहरू गरिरहेको दाबी पनि गरे ।

उद्घाटन समारोहबाट फर्केलगत्तै सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट लेख्दै प्रधानमन्त्री ओलीले ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिलेको बताए ।

प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् –‘सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन् । ट्राफिक व्यवस्थापन गर्न उनीहरूले धेरै दुःख र मेहनत गर्नु परेको हुन्छ। ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिएको छ ।  १२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।

तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।

‘करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो । तर, काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ,’ भण्डारीले भने ।

२०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको थियो । ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ ।

चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो । मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी ओभरपास बनाइएको छ । यसबाट ट्राफिक जाम कम हुने अपेक्षा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077