काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका यातायात व्यवस्था कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध दुई करोड ५२ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गौतमविरुद्ध स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पर्साका अधिकृत (आठौं तह) गौतमले पदमा रहँदा मर्यादाविपरित कार्य गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ ।
गौतम सार्वजनिक पद धारण गरेको २०५५ वैशाख ७ गतेदेखि २०७९ चैत २४ गते सम्मको आम्दानी र खर्चको विश्लेषण अख्तियारले गरेको छ ।
पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घररजग्गा बिक्री आय, सञ्चय कोष, बैंकहरू तथा जनक शिक्षा सामग्रीबाट ऋण÷सापटी लिएको रकम, शेयर बिक्रीबाट प्राप्त रकम, सवारी साधन बिक्री आय, विमा परिपक्करसमर्पण आय, कृषि आय, घर भाडा आय र बैंक ब्याज आय गरी जाँच अवधिमा गौतमको दुई करोड ८९ लाख २० हजार २६८ रुपैयाँ आयआर्जनको स्रोत खुलेको छ ।
जाँच अवधिमा नै एकासगोल घर परिवारको नाममा घर निर्माण, घर÷जग्गा खरिद, घररजग्गा रेजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सञ्चय कोषरबैंकरजनक शिक्षा सामाग्रीमा ऋण तिरेको रकम, शेयर खरिद रकम, बैंकमार्फत खर्च लगानी, सुन खरिद र बैँक मौज्दात गरी गौतमको कुल खर्च तथा लगानी भने पाँच करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ देखिएको छ ।
समग्र आयबाट खर्च तथा लगानी घटाउँदा आउने दुई करोड ५१ लाख एकाउन्न लाख ७८ हजार ६८७ रुपैयाँको गौतमले स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको रकमलाई नै बिगो कायम गरेर अख्तियारले गौतमविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै, राष्ट्रसेवक पदमा बहाली भएपश्चात वार्षिक रुपमा पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाईछिपाई झुठ्ठा विवरण पेस गरेको आरोपमा थप सजायको मागदावी पनि अख्तियारले गौतम उपर गरेको छ ।