अछाम । चौरपाटी गाउँपालिकामा कानुन विपरीत रूपमा दोहोरो यातायात भत्ता वितरण भएको खुलासा भएको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी पहिलो संशोधन ऐन, २०७६ को दफा १२ अनुसार, गाउँ कार्यपालिकाका पदाधिकारी तथा सदस्यहरूले कानुनले तोकेको सुविधा बाहेक अन्य कुनै सुविधा लिन नपाउने व्यवस्था छ ।
तर, सो व्यवस्थाको उल्लंघन गर्दै गाउँपालिकाका वडा अध्यक्षहरूलाई दोहोरो रूपमा यातायात भत्ता दिइएको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार वडा अध्यक्षहरूलाई ऐनको अनुसूचीबमोजिम नियमित रूपमा यातायात भत्ता दिइएको थियो ।
तर, त्यसबाहेक गाउँ सभामा आउजाउ गरेको भन्दै पुनः ३६ हजार (कर कट्टीपश्चात) थप रूपमा भुक्तानी गरिएको हो । यसरी दोहोरो यातायात भत्ता नलिनेमा वडा नम्बर १ का अध्यक्ष वीरबहादुर थापा मात्रै रहेका छन् ।
अन्य ६ जना वडाध्यक्षहरुले नियमविपरित ३६ हजार बुझेको पाइएको छ । ऐनले व्यवस्था गरे भन्दा वितरण गरेको बढी सुविधा असुल गरी राजश्व लाखिला गर्न महालेखाले गाउँपालिकालाई निर्देशन दिएको छ ।