काठमाडौं । फेसबुकमा ‘सबैलाई अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले डा. श्रेष्ठलाई फेला पारेको हो । उनलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा भेटाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले बताए ।
बालाजुमा भेटिएका डा। श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।
फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।
फेसबुकमा के लेखेका थिए ?
जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई स्वास्थ्य मन्त्रालय र अस्पतालका कर्मचारीहरुले झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् ।
उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप लगाएका छन् ।
करिब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका ती चिकित्सकले आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नुपरेको बताएका छन् ।
उनका अनुसार कर्मचारी प्रशासनका अनियमितता सुधार गर्ने क्रममा केही कर्मचारी समूह र स्थानीय नेताहरूको आँखामा उनी नराम्रोसँग परेको दाबी गरेका छन् ।
उनको भनाइ अनुसार अस्पताललाई व्यवस्थित बनाउने क्रममा उनले करारका केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका थिए । यही कारणले केही व्यक्तिहरू उनको विरुद्ध सक्रिय भएका थिए ।
उनले आरोप लगाए अनुसार रामेछापका स्थानीय नेता केदार कार्कीको दबाबमा अस्पताल सञ्चालन गर्नुपर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्ने, होटलका बिलहरू तिर्नुपर्ने जस्ता अनुचित मागहरू आएका थिए । ती मागहरू अस्वीकार गरेपछि उनलाई धम्कीसमेत दिएको आरोप छ ।