अछाम । अछामको चौरपाटी गाउँपालिकाले अनुगमन तथा भ्रमणका नाममा झण्डै १९ लाख रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार गाउँपालिकाले अनुगमन तथा भ्रमणमा १८ लाख ९१ हजार खर्च गरेको खुलेको हो ।
तर खर्चको प्रमाण, उद्देश्य र आवश्यक कागजात नभएको पाइएको छ। भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ अनुसार भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमणपछि निर्धारित ढाँचामा अभिलेख राख्नुपर्ने प्रावधान छ ।
यस्तै, नियम १९ मा जिल्लाभित्रको दूरी विवरण समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
'गाउँपालिकाले यस वर्ष अनुगमन मुल्यांकन तथा भ्रमण खर्च शिर्षकमा रु १८ लाख ९१ हजार खर्च लेखेको छ तर भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दूरीको विवरण, सवारी साधनको टिकट आदि राखेको छैन । जसले गर्दा अनुगमन तथा भ्रमणको सहि सदुपयोग भएको छ भन्ने आधार रहेन । यसमा सुधार गर्नुपर्ने देखिन्छ,' महालेखाको प्रतिवेदनमा उल्लेख छ ।