बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५, अस्तुमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा मृतक र घाइते सबैको पहिचान खुलेको छ ।
दुर्घटनामा ढोरपाटन नगरपालिका–२ की ७० वर्षीया नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा जिप चालक ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरू सोही ठाउँकी १८ वर्षीया लुम्बिनी महत, २३ वर्षीया इन्द्रा कुँवर, २९ वर्षीया निरमाया खत्री, ३८ वर्षीया देवी परियार, ५३ वर्षीया दुर्गी दर्जी, १२ वर्षीया अञ्जु परियार, ८ वर्षीय वियानो बुढा मगर, ५ वर्षीय विनय बुढा, ७५ वर्षीया मनकुमारी थापा, २१ वर्षीया टिकाकुमारी कुँवर, ढोरपाटन नगरपालिका–५ की ३५ वर्षीया डल्ली विक, ढोरपाटन–१ का ११ वर्षीय शिशिर कार्की र ढोरपाटन–५ की ३० वर्षीया टनमाया कुँवर गरी १४ जना छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दुर्घटनामा जिप चालक गोविन्द थापा र यात्रु लुम्बिनी महतको अवस्था गम्भीर छ । घाइते सबैको बुर्तिबाङ प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप साँझ ५ः४५ बजे दुर्घटना भएको हो। जिप सडकबाट करिब ६० मिटर तल खसेको थियो ।