काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत पाटन, उच्च अदालत विराटनगर, उच्च अदालत सुर्खेत र उच्च अदालत तुलसीपुरमा मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
बैठकले उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसादप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।
बैठकले कुवँरलाई उच्च अदालत पाटनमै, भट्टराईलाई उच्च अदालत विराटनगर, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि पनि सिफारिस गरेको छ ।

यसैबीच, बैठकमा सर्वोच्च अदालतमा रिक्त एक न्यायाधीश पदमा नियुक्तिको विषयमा पनि छलफल भएको बताइएको छ । उक्त रिक्त पदका लागि ईश्वरी भट्टराई, विष्णुुकमारी भुषाल र नातीबाबु लामिछानेको नाममा छलफल भएको स्रोतको दावी छ । उक्त पद सरकार हाँकिरहेको दल नेकपा एमालेको कोटामा परेको पनि बताइएको छ ।