काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले बोलाएको छ ।
गत मङ्गलबार प्रसारण भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरिएको व्यङ्ग्यपछि निर्देशक भण्डारीलाई प्रधानमन्त्रीको स्वकीय सचिव अरुण लम्सालमार्फत बोलाइएको हो ।
निर्देशक भण्डारीका अनुसार प्रधानमन्त्री कार्यालयबाट आएको बोलावट ‘सामान्य भेटघाट’का लागि भएको छ । भेटघाटको क्रममा केही नयाँ रचनात्मक कार्यक्रमहरूको अवधारणाबारे छलफल भएको उनले जानकारी दिए। यद्यपि अन्तिमतिर भने प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा ‘थोरै गम्भीर हुन’ अनुरोध गरिएको उनले स्पष्ट पारे।
मङ्गलबार प्रसारण भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगी अतिथिको रूपमा सहभागी थिए । राजनीतिक तथा सामाजिक विषयहरूमा रमाइला शैलीमा प्रस्तुत गरिएको उक्त शृङ्खलामा प्रधानमन्त्री ओलीप्रति समेत व्यङ्ग्य गरिएको थियो।