अछाम । अछामको चौरपाटी गाउँपालिकामा दोहोरो नागरिकता नम्बर भएका १८ जना भेटिएका छन् ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमा पालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको लागि तयार गरेको विवरणमा एकै नागरिकता नम्बर भएका दुई वा दुई भन्दा बढी व्यक्ति भेटिएका हुन् ।
उनीहरु सबैले सामाजिक सुरक्षा भत्ता बुझेको पनि खुलेको छ । यसरी एकै नागरिकता नम्बर भएका १८ जना भेटिएका छन् । जसमा वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ४ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का चारजना छन् ।
सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीमा विवरण भर्दा एकिन गरेर मात्र विवरण भर्ने तर्फ सम्बन्धित शाखाले ध्यान नदिएको भेटिएको छ ।
साथै नियमानुसार प्रत्येक व्यक्तिको नागरिकता नम्बर फरक हुनुपर्नेमा एकै नागरिकता भएका दुई वा दुई भन्दा बढी व्यक्ति रहेकोले नागरिकता नम्वर सच्याउन सम्बन्धित निकायमा लेखि पठाउन पहल गर्न महालेखाले निर्देशन दिएको छ ।