अछाम । चौरपाटी गाउँपालिकाले कोदोसँग चामल साट्ने कार्यक्रममा गडबढ गरेको पाइएको छ ।
यसअघि २०८० मंसिर २५ गतेको कार्यपालिकाको निर्णय अनुसार रैथाने बाली प्रर्वद्धन गर्ने उद्देश्यले कोदोसंग चामल साट्ने कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा ६ लाख ४५ हजार ७०२ रुपैयाँ हिनामिना भएको देखिएको हो ।
हालै सार्वजनिक महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार कोदोको आम्दानी राजश्व खातामा दाखिला नभएको देखिएको छ । १०० क्विन्टल चामल खरिद गरी श्री श्याम खाद्य स्टोरलाई गाउँपालिकाले ६ लाख ९० हजार भुक्तानी गरेको महालेखामा उल्लेख छ ।
'१०० क्विन्टल चामल मध्ये ६४२ केजि चामल बाँकी राखि अरु कोदोसंग चाम साटेको देखियो । पालिकामा कोदो मौज्दात देखिदैन भने कोदो बिक्री वापतको रकम आन्तरिक आम्दानी खातामा दाखिला गरेको देखिएन । बाँकी रहेको ६४२ केजी चामल विपदमा परेका नागरिकलाई बाडेको भर्पाई पेश भएको छ,' महालेखाको प्रतिवेदनमा भनिएको छ ।
कोदो र चामल साट्ने अनुपात के हो निर्धारण नगरी कोदो संग चामल साटिएको बताइएको छ । विपदमा परेका नागरिकलाई वितरण गरिएको ६४२ केजीको हुने ४४ हजार २९८ रुपैयाँ घटाई बाँकी ६ लाख ४५ हजार ७०२ रुपैयाँ चामलको साटिएको कोदोको आम्दानि राजश्व खातामा दाखिला गर्न महालेखाले निर्देशन दिएको छ ।