काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्याङ्क हेर्न कामपाले ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ ।
विश्व वातावरण दिवसका अवसर पारेर बिहीबार ड्यासबोर्ड सार्वजनिक गरिएको हो । ड्यास बोर्डबाट कामपा क्षेत्रका विभिन्न १८ ठाउँमा जडान गरिएका उपकरणले देखाएको पिएम दुई दशमलव पाँच र वायु गुणस्तर सूचकाङ्कको विवरणलाई वास्तविक समयमा हेर्न सकिने कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सीता राईले जानकारी दिए।
यसबाट अहिले कुन ठाउँमा वायुको गुणस्तरको अवस्था के छ भन्ने जानकारी पाउन सकिन्छ, कामपा स्वस्थ्य सहरका लागि थालेका प्रयत्नमध्ये यो एउटा महत्त्वपूर्ण प्रयास हो प्रमुख राईको भनाइ छ ।
वायु गुणस्तरको अवस्थालाई विभिन्न छवटा रङले अवस्था सङ्केत गरिएको छ ।