कैलाली । भारतमा भएको चोरी प्रकरणसँग जोडिएको आरोपमा अत्तरियाबाट पक्राउ परेका व्यवसायी ज्ञानेन्द्र खड्काले आफू निर्दोष रहेको दाबी गरेका छन् ।
हिरासतबाट केही दिन अघि छुटेका खड्काले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले आफूमाथि गरिएको ज्यादती र सामाजिक लाञ्छनाबारे गुनासो गरे ।
'इमानदार थिएँ, छु पनि, तर मलाई जबर्जस्ती अपराधी बनाउने प्रयास गरियो,' खड्काले भनेका छन्, 'न त कुनै प्रमाण थियो, न त मैले कुनै अपराध नै गरेको थिएँ।'
उनका अनुसार आफूले बीस (मदिरा) नपिएको भए पनि जबर्जस्ती पिलाउन खोजिएको थियो । “तर मेरो शुभचिन्तक कुलदेवताले त्यो बीस शरीरभित्र पस्न दिएनन्,” उनले लेखेका छन् ।
खड्काले आफूले पसिना र मेहनतले किनिएको एउटा गहनालाई आधार बनाएर आफूलाई सुन तस्करको आरोप लगाइएको भन्दै गुनासो गरे। “मेरो रहरलाई अपराध बनाइयो, लवाइलाई प्रमाण बनाइयो,” उनले दुखेसो पोखे।
पक्राउ प्रक्रिया पनि अनौपचारिक र अन्यायपूर्ण रहेको उनको आरोप छ। “न त नोटिस दिइयो, न त कारण खुलाइयो । १५ मिनेटमै मलाई अपराधी घोषणा गरियो,” खड्काले बताए । परिवारमा त्रासको माहोल सिर्जना गरिएको भन्दै उनले थपे, “मेरा आमाबुबा, श्रीमती, छोराछोरी सबैले मभन्दा बढी घाउ पाए।”
ज्ञानेन्द्र खड्काले अत्तरिया उद्योग वाणिज्य संघमा बोलेका केही यथार्थ कुराहरुकै कारण आफूलाई लक्षित गरिएको दाबी गरे। “मैले सहिलाई सही, गलतलाई गलत भनेको मात्रै हो। यही सत्य कसैको घाटी अठ्यायो,” उनले भने।
मिडियाले सत्य नखोजी मनगढन्ते कथा लेखेर आफूलाई समाजको नजरमा खलनायक बनाएको आरोप पनि उनले लगाए। “साँचो दोषी ओझेलमा पर्यो, मेरो अनुहार सबैको मोबाइलमा घुमिरह्यो,” भन्दै उनले सञ्चारमाध्यमप्रति पनि खेद व्यक्त गरे।
अन्त्यमा उनले भावुक स्वरमा भने, “म अपराधी होइन, म एक इमानदार नागरिक हुँ। तर मेरो इमानदारीलाई समाजकै चौराहामा झुन्ड्याउने प्रयास गरियो।”