काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा खड्ग केसीले तीनमहिने उपकुलपतिको जिम्मेवारी पाएको १ महिना ८ दिनपछि नयाँ उपकुलपति छनौट गर्न ‘सर्च कमिटी’ गठन भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले काम शुरू गर्न नपाउँदै उपकुलपति हुनेको लर्को लागेको छ ।
उपकुलपति हुन इच्छा जाहेर गरेका अधिकांश प्राध्यापकले आफू निकटका नेतासँग चाकडी शुरू गरेका छन् । चाकडी गर्ने र नेता भेट गर्नेमा सबैभन्दा पहिलो तीन महिने उपकुलपति प्राडा केसी छन् ।
यसअघि योग्यताको आधारबाट नियुक्त भएका माओवादी निकट प्राडा केशरजंग बरालले चैत १५ गते कर्मचारीमार्फत सुटुक्क राजीनामा दिएपछि रेक्टर प्राडा केसी उपकुलपति भएका हुन् ।
उच्च स्रोतका अनुसार पूर्वराष्ट्रपति विद्याभण्डारीको निकट मानिने प्राडा केसी उनकै जोडबलमा तीनमहिने उपकुलपति भएका हुन् । फेरि उनी नै उपकुलपतिको दौडमा अग्रपंक्तिमा रहेको त्रिवि स्रोतले बतायो । उनीसँगै एमाले निकट त्रिविको पूर्वरजिस्टार, पूर्वडीन, विभागीय, संकाय प्रमुख शिक्षक उपकुलपतिको दौडमा छन् । नेपाल समाचारपत्रबाट