काठमाडौं । सत्तारूढ दलबीचको किचलोका कारण नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन सकेको छैन । गभर्नर नियुक्तिमा ढिलाइ हुन थालेपछि सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले सरकारको आलोचना गर्न थालेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेसहित साना दलको गठबन्धन सरकार छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको सहमतिअनुसार गभर्नर कांग्रेसको कोटामा परेको छ ।
तर, महिनौंदेखि गभर्नर नियुक्त हुन नसक्दा सत्तारूढ दल कांग्रेसभित्रै आशंका बढ्दै गइरहेको छ । सोमबार मन्त्रिपरिषद् बैठक बोलाइएको थियो र बैठकबाट गभर्नर नियुक्त गर्ने बताइएको थियो । तर, प्रधानमन्त्री ओलीले एकाएक मन्त्रिपरिषद् बैठक स्थगित गरे ।
ओली र देउवाबीच सोमबार नै छलफल हुने बताइए पनि देउवा बालुवाटार गएनन् । छलफलका लागि बालुवाटारमा ओलीले देउवालाई पर्खिबसे तर ओली भेट्न देउवा गएनन् ।
गभर्नर नियुक्तिमा देखिएको गाँठो फुकाउने विषयमा ओलीले देउवासँग छलफल गर्न खोजेका थिए । हुन त यसअघि गभर्नर नियुक्तिको विषयमा ओली र देउवाबीच छलफल हुँदैआएको छ । यस विषयमा दुई नेताका बीचमा पटक–पटक गरी घण्टौं छलफल भए पनि राष्ट्र बैंकले गभर्नर पाउन सकेको छैन ।
मन्त्रिपरिषद्ले निर्णय गर्नुभन्दा अघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय गभर्नर सिफारिस समितिले सिफारिस गर्नुपर्ने हुन्छ । तर, सो समितिले अझै नामावली सिफारिस गर्न सकेको छैन । ओली र देउवाले जति छलफल गरे पनि गभर्नरको नाम भने सिफारिस समितिमा अड्काएर राखिएको छ । राजधानी दैनिकबाट