सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिका-२ भिमस्थानमा विद्यार्थी बोकेको स्कुल भ्यान दुर्घटना भएको छ ।
तिनपाटन गाउँपालिका-२ स्थित भिमस्थानस्थित गैरिशंकर बोडिङ्ग स्कुलको ना १ झ ६३०२ नम्बरको २५ जना विद्यार्थी बोकेको भ्यान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सो दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जना विद्यार्थीको अवस्था मध्यम छ । उनीहरुलाई उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ ।
अन्य घाइतेको भिमस्थान स्वास्थ्य चौकीमा उपचार जारी छ । भ्यान आफैँ अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । प्रहरीले थप अनुसन्धान थालेको छ ।