काठमाडौं । धान रोपाइँको मुख्य सिजनमा रासायनिक मल अभाव हुने चिन्ता बढिरहेका बेला भारत सरकारले नेपाललाई ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी गरी कुल ५० हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि स्वीकृति दिएको छ ।
नेपाल सरकारको आग्रहपछि भारतले आफ्नो 'Neighbourhood First' नीतिअन्तर्गत मल उपलब्ध गराउने निर्णय गरेको हो।
स्वीकृतिसँगै दुवै देशका सरकारी निकायले सरकार-सरकार (जीटुजी) सम्झौताअनुसार आपूर्ति प्रक्रिया अगाडि बढाएका छन्।
भारतको नेशनल केमिकल्स एन्ड फर्टिलाइजर्सले आवश्यक परिमाणको मल उपलब्ध गराउन सहमति जनाइसकेको छ भने नेपालको कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले खरिद तथा ढुवानीको प्राविधिक तयारी सुरु गरिसकेको छ।
कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायका अनुसार भारतबाट मल उपलब्ध गराउने औपचारिक स्वीकृति प्राप्त भइसकेको छ।
सरकारले खरिदका लागि आवश्यक बजेट तत्काल निकासा गरे साउन १५ भित्रै मल नेपाल आइपुग्ने लक्ष्य राखिएको छ।