काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ, जसअन्तर्गत एकैपटक ८९ वटा ऐन संशोधन र दुईवटा ऐन खारेज गरिनेछ ।
यस्तै, बैठकले ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’लाई समेत बहुमतले पारित गरेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयक पूर्वमन्त्री धनराज गुरुङको कार्यकालमा तयार पारिएको थियो ।
२६ वैशाख २०८० मा प्रतिनिधिसभामा दर्ता भएको विधेयक २९ भदौमा विषयगत समितिमा पठाइएको थियो र १४ वैशाख २०८१ मा सभामा पुनः पेस भएको थियो ।
प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ । त्यहाँबाट पारित भइसकेपछि पुनः प्रतिनिधिसभामा फिर्ता ल्याइनेछ र अन्ततः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरिनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपश्चात् यस ऐनका रूपमा कार्यान्वयनमा आउनेछ । राजधानी दैनिकबाट