काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग गर्दै शिक्षक र विद्यालय कर्मचारी आन्दोलनमा उत्रिएको एक महिना बित्न लागेको छ । आन्दोलनकै बलबाट शिक्षा ऐन जारी गरिछाड्ने अडानका कारण पटक–पटक सरकारसँग वार्ता र संवाद भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
नेपाल शिक्षक महासंघको अगुवाइमा भएको शिक्षक तथा कर्मचारीको सडक आन्दोलन निरन्तर जारी रहेको छ । आन्दोलनसँगै सरकारसँग वार्ता पनि अघि बढाउँदै आएको शिक्षक महासंघले सरकारसँग आफूहरूको माग पूरा भए पनि आन्दोलन भने नछाड्ने मुड बनाएका छन् ।
उनीहरूले सरकारसँग पूर्वसहमति कार्यान्वयन गर्न स्पष्ट मार्गचित्रसहित वार्तामा बस्ने र वार्ता सफल भएमा आगामी २१ वैशाखदेखि हुन लागेको कक्षा १२ को परीक्षा नरोक्ने तर आन्दोलन भने निरन्तर जारी गर्ने शिक्षकहरूको तयारी छ ।
शिक्षक आन्दोलनको मोडालिटी परिवर्तन गरेर अघि बढ्ने तयारीमा आफूहरू रहेको शिक्षक महासंघका एक प्रतिनिधिले बताए । ‘हाम्रा साथीहरू छलफलमै हुनुहुन्छ अब कसरी अगाडि बढ्ने भन्ने मोडालिटी तयार हुन्छ होला,’ ती प्रतिनिधिले भने, ‘तर, हामी विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन भने छाड्दैनौं, हामीलाई विगतमा पनि सरकारले ढाँट्ने काम ग¥यो, सहमति पालना गरेन, अब पनि सहमति गर्ने कार्यान्वयन नगर्ने सरकारका कारण हामी आन्दोलन नछोड्ने मुडमा आएका हौं ।’
२० चैतदेखि शिक्षकहरूले काठमाडौंका माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएका छन् । राजधानी दैनिकबाट