पर्सा । अवकाशको मुखमा रहेका मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) लालमणि आचार्यले प्रदेशभरि घुमुवा प्रहरी खटाएर असुली धन्दा चलाएको आरोप लागेको छ ।
वर्तमान आईजीपी बसन्तबहादुर कुँवर मधेस प्रदेशको प्रहरी प्रमुख हुँदा डाँडा कटाएका घुमुवाहरु मधेसमा डीआईजी आचार्य आएसँगै पर्सामा बसेर सेवा गरिरहेका छन् ।
पर्साका विभिन्न नाकाहरुबाट भारततर्फ लसुन, टायर, लागुऔषध गाँजा तस्करी भइरहेको प्रहरीकै स्रोत बताउँछ । उता, भारतबाट कपडा, खैनी, कुखुराको चल्ला, चिनी, हार्डवेयर, काजु, रजनीगन्धा, चाइनिज लसुन, नेपालमा प्रतिबन्धित बिभिन्न जातका नकुहिने रसायन फर्मालिन राखिएका माछा, किराना आईटम, प्याज तथा चौपाया निर्वाध रुपले भित्रिरहेको छ ।
यस कार्यमा हरदेव यादव, जितु, रञ्जित, पशुपति यादव, उत्तम तिवारी, सञ्जय चौरसिया, सन्दिप चौरसिया, तारकेश्वर, दिनेश, हरिन्दर, शत्रुधन, अरुण साह, रुन्मदन, बाले, राजेश, लखिचन, धर्मेन्दर, सुरिन्दर साह, रामरहिम, रविन्दर, यूनिस, मुना, तामान्ना, गजान्नद, सुनिल, जटाधारी, अविनाश, मन्जु, वकिल, बबन ठाकुर, ललिताग्रुप, शोभा ग्रुप, चान्दा ग्रुप, र सुवास तिवारी लगायतको गिरोह सक्रिय रहेको छ ।
डिआईजी आचार्यले रकम असुली कार्यलाई प्राथमिकता दिएका कारणले गर्दा मधेस प्रदेशको शान्ति सुरक्षामा प्रतिकूल असर परेको गुनासो बढेको छ ।
तराईका जिल्लाका प्रहरी प्रमुखहरुले सादा पोशाकमा प्रहरीहरु खटाउने र ती प्रहरीहरु अपराध नियन्त्रणमा भन्दा अतिरिक्त कमाइतिर केन्द्रित हुने गरेको समाचार बारम्बार आउने गरेको छ । अर्थतन्त्र संकटग्रस्त छ, लक्ष्य अनुरुप राजस्व असुली हुन नसकिरहेको अवस्था छ ।
प्रहरीका घुमुवाको सेटिङमा सीमा क्षेत्रमा भन्सार छली गरेर सामान भित्रन छुट दिंदा लक्ष्यअनुरुप राजस्व असुली हुन नसकेको तीतो यथार्थ छ । दरबन्दी अर्कै प्रदेशमा भएका त्यस्ता प्रहरीमध्ये कतिपय त जागिरमा प्रवेश गरेदेखि नै सादा पोशाकमा परिचालित हुँदै आएका छन् ।
मधेश प्रदेश र जिल्लाका प्रहरी प्रमुखहरुले सादा पोशाकमा घुमुवाहरुका रुपमा खटाइएका र लामो समयदेखि कार्यरत भएकाले तस्कर, नदी र खोला दोहन गर्ने क्रसर ब्यवसायीहरुले उनीहरुलाई मिलाएर आफ्नो अवैध कारोबार निर्बाध रुपले गर्दै आएका छन् ।
मधेशमा समूह समूहको क्रियाकलाप बढ्नुमा लामो समयदेखि कार्यरत घुमुवाहरुमार्फत् नै सशस्त्र समूहले सूचना लिने र चन्दा आतंक, हत्या, हिंसाका घटना घटाउँदै आएको पुष्टि भएपछि आईजीपी कुँवरले ठूलो संख्यामा त्यस्ता घुमुवाहरुको सरुवा पनि गरेका थिए । आईजीपी कुँवरको निर्देशनमा लामो समयदेखि एकै ठाउँमा काजमा कार्यरत रहेका विवादास्पद प्रहरीहरुको काज फिर्ता भइरहेको छ ।
आईजीपी कुँवरको निर्देशनमा काज फिर्ता गरी रवाना दिन जिल्लाका प्रहरीका हाकिम बाध्य भएका छन् । तर, तीमध्ये केही राजनीतिक शक्ति र प्रहरी संगठनमा राम्रो पँहुच भएका विवादास्पद बदनाम घुमुवाहरुलाई रवाना नगरी जिल्लाका एसपीहरुले नै काखी च्यापेर राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा ८ र १० वर्ष भन्दा लामो समय देखि घुमुवाको रूपमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोद सिंहको दरबन्दी मधेश प्रदेश बाहिर रहे पनि शक्तिको आडमा लामो समयदेखि उनी हाल ४ र ५ बर्षदेखि पर्सा जिल्लाका घुमुवाहरुको कमाण्डरको रुपमा कार्यरत छन् ।
सिंहको भारतसँग जोडिएका सीमा नाकाबाटअबैध कारोबार, जाली नोट र चोरी तस्करीको नेटवर्क संचालन गर्ने मुख्य गिरोहसँग कनेक्सन रहेको स्रोत बताउँछ । सिंहलाई हाल प्रदेश प्रहरी कार्यालयले परिचालन गरेको छ ।
जागिरमा प्रवेश गरेदेखि हालसम्म घुमुवाको रुपमा रही तस्करी र अपराधको दुनियाँमा परिचित प्रहरी सहायक निरीक्षक प्रमोद सिंह, प्रहरी सहायक हवल्दार संजय जैसवाल, प्रहरी सहायक हवल्दार सन्तोष पाण्डे र सिमा प्रहरी चौकी छपकैयामा कार्यरत प्रहरी सहायक हवल्दार मणिकान्त साहलगायतकै संरक्षणमा तस्करी भइरहेको बताइएको छ ।
वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज निरज चौलागाई छन् । बिर्ता वडा प्रहरी कार्यालयले सहायक हवल्दार संजय जैसवाललाई सादा पोशाकका घुमुवाका रुपमा परिचालन गरेको छ । उनी पटक–पटक गरी ९ बर्षदेखि पर्साको बिर्तामा घुमुवाका रुपमा परिचालित छन् ।
प्रहरी कार्यालय बिर्ताका घुमुवा जैसवालले भन्सार छली गर्नेदेखि लागूऔषधका कारोबारीसँग मासिक रुपमा लाभ लिएर संरक्षण गर्दैआएका छन् ।
हाल यी सबै घुमुवाले आईजीपी समेतको नाममा रकम उठाउने गरेको स्रोतले जनाएको छ । उनीहरुको मुख्य काम नै आर्थिक संकलन गर्नु रहेको छ । यो कार्यमा ४ जना खुंखार दलालहरु पनि पूर्ण रुपमा सक्रिय भएका छन् ।
जिल्ला रौतहट ब्रहमपुरी घर भई बीरगंजको आदर्शनगर जस्तो ठाउँमा ६ तल्ले आलिशान घर बनाउन सफल मिन्टु सिंह रहेका छन् । उनी रौतहटका अपराधका नाइके बबन सिंहका भाइ हुन् । उनी पहिला रौतहटको मौलापुर घर भएका माननिय प्रभु साहका नम्बर वन सुटर थिए ।
पर्सा हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीका हत्यामा मुछिएका सिंहले साहसँग ठूलो रकमको मोलमोलाई गरेको आरोप लागेको थियो ।
पैसाको कुरालाई लिएर प्रभु साह र सिंहबीच ठूलो बिबाद भएपछि रौतहटबाट बीरगंजमा नै घर बनाई बस्न थाले र त्यतिबेलादेखि नै प्रभु साहका साथै पुलिसको घुमुवाहरुसँग मिलेर बिभिन्न अपराधी गिरोहसँग साँठगाँठ गरी कमाउ धन्दा गरिरहेका छन् ।
हाल उनी दिनरात घुमुवाहरुसँग जिल्ला प्रहरी कार्यालयमा र उनीहरुको मोटरसाइकलमा घुमिरहेको सजिलै देख्न सकिन्छ । जिल्लाका घुमुवाहरुको काम अहिले उनीहरुको घरमा बिहान बेलुका तरकारीदेखि लिएर घरमा चाहिने सम्पूर्ण समान जस्तै–एलसिडि, मोबाइल फोन, घरको डेकोरेशन लगायतका काम यिनै घुमुवाहरुको जिम्मामा परेको छ ।
हाल यिनको काम भनेको बीरगंजका माडवारीहरुको अबैध कारोबारको सुराक घुमुवाहरुलाई दिने र लुटपाट शैलीमा छापा मारी मोटो रकम बार्गेनिङ गरेर असुल्ने रहेको प्रहरी स्रोत नै दाबी गर्छ ।
यस्तै, खुँखार हुण्डी र सुन व्यापारी रक्सौल घर भएका कमलेश कलवार, आनन्द कलवार, सुबोध कलवार, बब्लु कलवार, गोबिन्दा कलवार, सुरजको गिरोह र भारतको छौडादानो घर भएका छोटेलाल, मोतिहारी घर भएका अरुण सर्राफ, बिजय, बीरगंज पर्सा घर भएका राजु दारुका र उनका २ जना छोरा, कन्हैया ठाकुर, बिकीराजा माडवारी, पवन गुप्ता कलवार तथा बाराको परसौनी घर भएका आनन्द साह कलवार समुहसँग पनि यिनै घुमुवाहरुको बाक्लो उठबस तथा साँठगाँठ छ ।