काठमाडौं । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गर्दा विभिन्न कार्यालयका प्रमुखहरु पनि फेरिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ।
त्यस्तै, १७ जना सहसचिव एकैपटक गृहमा भित्रिएका छन् । भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय र दिव्यराज पोखरेल र धर्मराज जोशीको बढुवा लगत्तै गृहमा पदस्थापन भएको छ ।
त्यस्तै, संघीय मामिला मन्त्रालयका बलराम रिज्याल, श्रम मन्त्रालयका सुरेन्द्र पौडेल, अख्तियारका ईश्वरी प्रसाद अर्याल, नरहरी घिमिरे, माधव प्रसाद पोखरेलको पनि गृहमा सरुवा भएको छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत आनन्द सारु, लुम्बिनी प्रदेशमा कार्यरत वेद प्रसाद खरेल, गण्डकी प्रदेशमा कार्यरत कुमानसिंह गुरुङ, सार्वजनिक खरिद अनुगमनको कार्यालयमा कार्यरत दीपकराज नेपालको पनि गृहमा पुगेका छन् ।
उनीहरु सिडिओ बन्ने सपनासहित शक्ति प्रयोग गरी गृहमा गएका हुन्। तिव्र चलखेलकै कारण १५ महिना हुँदासम्म कतिपय जिल्लामा सिडिओको सरुवा हुन सकेको छैन ।
अहिले नै गृहमा पाँच सहसचिवले जिम्मेवारी पाएका छैनन् । एकैपटक थप १७ जना गृहमा पुगेपछि अब ठूलो संख्यामा सिडिओको हेरफेर हुने सम्भावना छ ।