काठमाडौँ । राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी दल रहेको छ ।
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस निरन्तर दुई वर्षदेखि घाटामा गएको छ । नेकपा (माओवादी केन्द्र) को आम्दानी घटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीको दोब्बर खर्च गर्दा करिब पौने दुई करोड रुपियाँले घाटामा गएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र सोको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम माघभित्र ८८ राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाएको छ ।
आयोगमा बुझाइएको प्रतिवेदन अनुसार नेकपा एमालेले गत आवमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपियाँ आम्दानी गरेको छ ।
आव २०७९/८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपियाँले घाटामा रहेको एमालेले यस वर्ष करिब सात करोड २८ लाख रुपियाँले बचतमा गएको छ । गोरखापत्रबाट