काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ।
भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको हो ।
हिन्दु धर्मावलम्बीले आज भगवान् शिवको पूजा–आराधना गरेर महाशिवरात्रि पर्व मनाउँदै छन् । यस दिन नदी–तलाउमा स्नान गरेर पवित्र भई महादेवको पूजा–आराधना गर्ने गरिन्छ ।
बिहानैदेखि शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि ठूलो संख्यामा भक्तजन पुगेका छन् ।
यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने जनविश्वास छ । शिवरात्रिका निम्ति देश–विदेशबाट केही दिनअघिदेखि नै साधुसन्त पशुपतिनाथमा आइसकेका छन् ।