काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको जनाएको छ।
पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको छ।
यस वर्ष एक दशकयताकै सर्वाधिक भक्तजन यहाँ आउने विश्वास गरिएको कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले जानकारी दिए ।
त्यसैअनुसार पशुपति क्षेत्रमा सबै तयारी गरिएको छ । भारतको प्रयागराजमा भइरहेको महाकुम्भबाट धेरै साधुसन्त पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरिएको छ ।
नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मारसहित विश्वका धेरै देशबाट भक्तजनको उपस्थिति भइरहेको छ । व्यवस्थित रूपमा पूजाआजा र दर्शनको व्यवस्थाका लागि बुधबार बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने निर्णय भएको सदस्य सचिव थापाले जानकारी दिए ।
कोषको प्राथमिकता भक्तजनको सुविधा र सहजता भएकाले त्यसैअनुरुप काम गरिएको उनले बताए । दर्शनार्थी, साधुसन्त एवं भक्तजनको सङ्ख्या वृद्धि भएकाले सुरक्षा तथा स्वास्थ्यका मापदण्ड पालना गर्न कोषले आह्वान गरेको छ ।