Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रेम विवाहले निम्त्याएको नवलपरासीको झडप, प्रहरीको गाडी जलाउनेदेखि हवाइ फायरसम्म

प्रेम विवाहले निम्त्याएको नवलपरासीको झडप, प्रहरीको गाडी जलाउनेदेखि हवाइ फायरसम्म

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप हुँदा प्रहरीले हवाय फायर गर्नु परेको छ । मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप दुई घन्टापछि प्रहरीको नियन्त्रणमा आएको हो।

५ राउन्ड अश्रु ग्यास र ३ राउन्ड हवाइ फायर गरेपछि अहिले प्रहरीको नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

उनका अनुसार ५ जना सिभिल प्रहरी, १५ जना प्रहरी र ५ जना स्थानीय गरी २० जना घाइते भएका छन्। झडपमा प्रहरीको गाडी, कवाड राखेको पसल पनि जलेका छन्।

सोमबार बेलुकी दुई स्थानीयबीच झगडा भएको थियो। त्यही विषयलाई लिएर आज पुनःः झडप भए पनि यकिन कारण भने नखुलेको इन्स्पेक्टर थापाले जानकारी दिए।

अहिले झडप नियन्त्रणमा आए पनि नेपाल प्रहरीका १५० जना र सशस्त्र प्रहरी एक सय जना परिचालन भएको उनले बताए। झडपलाई नियन्त्रण लिन रुपन्देहीबाट पनि थप प्रहरी खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार थप मद्दतका लागि ५० जना प्रहरी पठाइएको छ ।

यस्तो छ विवाद
करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए ।

सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।

तर, सोमबार राति फेरि केटी पक्षका आफन्तले केटाका भाइलाई बाटोमै रोकेर कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका युवकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

यो घटनापछि गाउँलेहरू दुई पक्षमा विभाजित भइ कुटपिटमा उत्रिएका थिए । प्रहरीले बल प्रयोग गरेर अहिले स्थिति नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077