काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’प्रस्तुत गर्ने कार्यसूची छ।
पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ संसद सचिवालयमा दर्ता गराएका थिए।
नेपालमा आधुनिक,सुविधायुक्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेसन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था आवश्यक भएकाले यो विधेयक पेश गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।