काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ ।
ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई हटाएर त्रिपाल काण्डका नाइके अर्जुनकुमार कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी गरेका हुन् ।
मन्त्रिपरिषद बैठकले घिसिङलाई हटाएर पूर्वसचिव कार्कीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना रहेको छ । स्रोतका अनुसार ८ अर्ब रुपैयाँ बक्यौता नतिर्ने उद्योगपतिहरूको दबाबमा घिसिङलाई हटाउन लागिएको हो ।
विशेषगरी जगदम्बा स्टीलका साहिल र सुलभ अग्रवालले ४ अर्ब १४ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी छ । यी ठूला ब्यापारीहरु नै कुलमानलाई हटाउने र डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने दाउमा छन् ।
कार्की प्राधिकरणकाको पूर्व कार्यकारी निर्देशकसमेत भइसकेका छन् । उनीमाथि परियोजनाको लागत वृद्धि र अनियमितता गर्ने गरेको आरोप छ ।
भूकम्पपछिको पुनर्निर्माणमा समेत ४५ करोडको त्रिपाल खरिदमा अनियमितता र धरहरा पुनर्निर्माणको ठेक्कामा सेटिङको आरोप लागेको थियो ।
अवकाशपछि अख्तियारको आयुक्त हुने भन्दै मातहतका कर्मचारीलाई तर्साउँदै आफूअनुकूलका काम गराउँदैआएका कार्की २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प जाँदा सहरी विकास मन्त्रालयका सचिव थिए ।
भूकम्पपछि कार्कीले दीपक मल्होत्रासँग विनाटेण्डर ४५ करोड रुपैयाँको त्रिपाल खरिद गरेका थिए । लोकमानसिंह कार्की र अर्जुन कार्कीको सेटिङमा ४५ करोड भुक्तानी दिने क्रममा ४० प्रतिशत कमिसन मल्होत्रासँग लिएको आरोप लागेको थियो ।