काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच पछिल्लो समयमा दूरी थप बढ्दै गइरहेको छ ।
दुवै नेता एक अर्काको कार्यशैलीबाट सन्तुष्ट छैनन् । पार्टी सञ्चालनको विधि, प्रक्रिया र कार्यशैलीबाट असन्तुष्ट दुवै नेताले एक अर्काको आलोचना गर्न थालेका छन् ।
एकीकृत समाजवादीको सम्पन्न १०औं महाधिवेशनयता नेपाल र खनालको सम्बन्ध पहिलेजस्तो सुमधुर छैन । दुवैले एक अर्काको आलोचना गर्ने गरेको एकीकृत समाजवादीकै नेताहरू बताउँछन् ।
‘पहिले जस्तो उहाँहरूबीच सम्बन्ध त्यति राम्रो देखिँदैन, एक अर्काको आलोचना खुलेरै गरिरहनुभएको छ,’ ती नेताले भने, ‘महाधिवेशनयता त सम्बन्ध झन् बिग्रेको छ ।’
महाधिवेशनपछि शुक्रबार र शनिबार केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दै छ । त्यसअघि गत मंगलबार र बुधबार स्थायी कमिटी तथा पोलिटब्युरो कमिटीको बैठक भएको थियो ।
त्यस बैठकमा समेत नेपाल र खनालले देखिनेगरी एक अर्काको आलोचना गरेका छन् । नेपाल र खनालले लिखित रूपमै एक अर्काको आलोचना गरेका छन् । राजधानी दैनिकबाट