काठमाडौं । सरकारमा रहेका र समर्थन गरेका दलहरूसमेत ‘बिच्किन थालेपछि’ प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सत्ता संकट बढ्दै गइरहेको छ ।
सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र सरकारलाई समर्थन गरेको अर्को दल जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।
सत्ता साझेदार अर्को दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र सरकालाई समर्थन गरे पनि संघीय सरकारमा सहभागी नभएको जनमत पार्टी पनि सरकारको गतिविधिप्रति सन्तुष्ट छैन । यी दुवै दलले प्रधानमन्त्री ओलीको कार्यशैली र सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाइरहेका छन् ।
पछिल्ला दिनमा यी दल सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छन् । यी दलले समर्थन फिर्ता लिएपछि ओली नेतृत्वको सरकारले पुनः संसद्बाट विश्वासको मत लिनुपर्छ । तर, यी दलले समर्थन फिर्ता लिए पनि ओली सरकार ढल्ने अवस्था भने छैन । नेपाली कांग्रेस र नेकपा एमालेको संख्या सरकार बनाउन पर्याप्त छ ।
सरकारमा सहभागी लोसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । राजधानी दैनिकबाट