काठमाडौँ । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । एक वर्षका बिचमा भाउ नमहँगिएको उपभोग्य वस्तु नै छैन ।
दैनिक सात/आठ सय रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव निर्माण मजदुरका रूपमा काम गर्ने विनीता थापाको छ । पछिल्लो एक वर्षको बिचमा पारिश्रमिक बढेको छैन तर खानेकुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने ? उनले प्रश्न गरे ।
सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ९५ रुपियाँ पुगेको छ । खानेतेल, गेडागुडी, दाललगायतका भाउ यसै गरी बढेको छ । विनीता त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षका बिचमा सबै जसो उपभोग्य वस्तुको भाउ औसतमा १५ प्रतिशत महँगिएको छ ।
सङ्घका उपाध्यक्ष नरेश शाही (खड्गी) ले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ४० प्रतिशतसम्म महँगिए पनि औसतमा १५ प्रतिशतसँग महँगो भएको पाइएको जानकारी दिए । गोरखापत्रबाट