काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।
ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक साधारण सभा तथा छैटौँ राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै सचिव कार्कीले घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासमा फरक फरक मूल्य कायम गर्न लागिएको जानकारी दिए ।
“अहिले घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य छ । प्रतिसिलिन्डरमा साढे तीन सय रुपियाँ अनुदान पनि गइरहेको छ,” उनले भने “आवश्यक नपर्ने वर्गलाई पनि अनुदान गएकाले अनुदान दिनुपर्ने वर्गलाई छुटाएर अनुदान वितरण गरिन्छ ।”
उनका अनुसार सुरुमा सबैले परल मूल्यमा ग्यास खरिद गर्नुपर्ने र घरायसी प्रयोजनका लागि उपभोक्तालाई अनुदान रकम पछि फिर्ता गर्ने तयारी मन्त्रालयको छ ।
ग्यासमा अनुदानबापत वार्षिक १० अर्ब रुपियाँ गइरहेको र पाँचतारे होटलदेखि आवश्यक नपर्ने ठाउँमा पनि अनुदान प्रयोग भएकाले यसलाई नियन्त्रण गर्न लागिएको उनले बताए । गोरखापत्रबाट