काठमाडौं । राष्ट्रसेवकको दर्जामा रहेका निजामती कर्मचारीहरूमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्न खोज्ने प्रवृत्ति बढेको छ ।
सुशासन दिने, देश र जनताको काम इमानदारीतापूर्वक गर्ने शपथ खाएका राष्ट्रसेवकहरू धमाधम भ्रष्टाचार काण्डमा मुछिने क्रम बढेको हो । पछिल्ला तीन वर्षमा मात्रै भ्रष्टाचार गर्ने ११ सय ८६ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वर्षेनी भ्रष्टाचार मुद्दा दायर गर्ने क्रममा राष्ट्रसेवक कर्मचारीहरू भ्रष्टाचारमा लिप्त हुने क्रम बढेको पाइएको हो।
आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै विभिन्न दर्जा र सेवा समूहका गरी ५ सय २० जना कर्मचारीलाई भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
त्यसै गरी अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ सय ५६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो भने आर्थिक वर्ष २०७८÷७९ मा ३ सय १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । नेपाल समाचारपत्रबाट
Leave a Reply