काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले कम्पनी छाडेर भागेका, भिसाको म्याद सकिएर ‘ओभरस्टे’ भएर बसेका नेपालीसहित आप्रवासी कामदारहरूलाई दिएको आममाफीको अवधि दुई महिना थपेर ३१ डिसेम्बरसम्म कायम गरेको छ ।
यूएई सरकारले गत १ सेप्टेम्बरदेखि ३० अक्टोबरसम्म दुई महिनासम्मका लागि आममाफीको समयसीमा तोकेको थियो ।
३१ डिसेम्बरसम्म चल्ने यो दुई महिनाको योजनाले उल्लंघन गर्नेहरूलाई या त आफ्नो स्थिति नियमित गर्न वा प्रतिबन्ध, जरिमाना वा एक्जिट शुल्कबिना देश छोड्न अनुमति दिनेछ ।
अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यसमा आफू कार्यरत कम्पनीबाट भागेकाहरू (रनवे), त्यहाँको अध्यागमन नियम उल्लंघन गरेकाहरूलाई पनि सहभागी हुन अनुरोध गरेको छ ।
अवैधानिक भएकाहरू त्यहाँको सरकारले तोकेको प्रक्रिया पूरा गरेर वैधानिक रूपमा यूएईमै रहन तथा नेपाल फर्केर पुनः यूएई जानसक्ने कानुनी आधार निर्माण हुने दूतावासले जनाएको छ । राजधानी दैनिकबाट