काठमाडौं । व्यवसायका अनेक प्रलोभनमा पारेर विभिन्न व्यक्तिहरुसँग करोडौं रकम ठगी गरी फरार भएका दिपेश चालिसेविरुद्ध पक्राउ पुर्जी जारी भएको तीन महिना वितिसक्दा पनि उनी पक्राउ परेका छैनन् ।
उच्च प्रहरी अधिकारीहरुकै संरक्षणका कारण १५ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका चालिसे पक्राउ पर्न नसकेको पीडित पक्षले आरोप लगाएको छ ।
जयनारायण घिमिरे समेतको जाहेरीले ठगीसम्बन्धि कसुरमा दिपेश चालिसे, प्रचण्ड खड्का लगायतविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २०८२ फागुन १४ गते पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएको थियो ।

प्रहरीले खड्कालाई पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर, खड्कालाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानिमा छाडिसकेको छ ।
चालिसेलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराई भने चालिसेलाई प्रहरीले खोजी गरिरहेको बताएका छन् ।
कराडौं ठगी गर्नेलाई पक्राउ पुर्जी जारी भएको तीन महिना वितिसक्दा पनि प्रहरीले किन पक्राउ गर्न सकेन ? भन्ने अनलाइन नेपालको प्रश्नमा एसपी भट्टराइले भने–‘चालिसेलाई पक्राउ गर्न हामी निरन्तर खोजीमा छौं ।’
चालिसे र खड्काले पीडित घिमीरेलाई विभिन्न प्रलोभनमा पारी उनको मोरङ जिल्लामा रहेको १० कठ्ठा जग्गा र काठमाडौंको बुढानिलकण्ठस्थित चपलीमा ९ आनामा बनेको साढे २ तले घर १६ करोड ५० लाख रुपैयाँ मुल्य कवोल गरेर लिएका थिए ।
सो को बदलामा घिमीरेलाई अर्को घर र बाँकी पैसा नै दिने भने पनि ५ करोड रुपैयाँमात्र दिएको पीडीत घिमीरे निकट स्रोतले जानकारी दिएको छ । बाँकी रहेको ११ करोड ५० लाख रुपैयाँ भने चालिसे नदिइ उल्टै प्रहरीको धाक देखाउने गरेको आरोप लागेको छ ।
११ करोड ५० लाख रुपैयाँ ठगीको कसुरमा चालिसे र खड्काविरुद्द पक्राउ पुर्जी जारी भएको थियो । खड्का पक्राउ परेर प्रहरीले चाहेको समयमा उपस्थित हुने शर्तमा छुटेका छन् भने ठगीकाण्डका मुख्य नाइके चालिसे अझै फरार छन् । चालिसेले धेरै व्यक्तिहरुको पैसा डुबाइदिएका छन् ।
त्यसो त, चालिसेमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानविन गरिरहेको छ । उनले अवैध बाटोबाट रकम विदेश पुर्याएको र उनलाई सघाउने प्रहरी, कर्मचारी, व्यापारी लगायतसँगको ‘कनेक्सन’ समेत विभागको अनुसन्धानका क्रममा खुलेको स्रोत बताउँछ ।
को हुन् दिपेश चालिसे ?
तस्करी र सेटिङको दुनियाँमा चर्चित नाम हो दिपेश चालिसे । उनी केवल तस्करहरूको सेटिङ मिलाउने विचौलिया मात्र नभई ठगी धन्धामा संलग्न संगठित अपराधीहरूको नाइकेसमेत रहेको आरोप लाग्दै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित चमेना गृह (क्यान्टिन) चलाउने बाबुको छोरा कसरी रातारात अरबपति बने ? सुन्दा कुनै हिन्दी फिल्मको कथाजस्तो लाग्ने चालिसेको यात्रा वास्तवमा निकै रोचक र विवादास्पद छ । उनको विभिन्न ठूला व्यापारिक घरानाका व्यक्तिहरुसँग निकट सम्बन्ध रहेको बताइन्छ ।
चालिसेका बुवा विमानस्थलको क्यान्टिनमा काम गर्थे । उनैले दिपेशलाई विमानस्थलमै एक भन्सार एजेन्टको कार्यालयमा काम मिलाइदिए । सुरुमा उनको काम खाजा–पानी ल्याउने, चेक साट्ने, कागजपत्र ओसारपसार गर्ने मात्र थियो ।
तर, त्यही कार्यालय उनको जीवनको सबैभन्दा ठूलो ‘स्कुल’ बन्यो । भन्सार एजेन्ट, विमानस्थल कर्मचारी, व्यापारी र आयातकर्तासँग दिनहुँको उठबसले उनले सम्बन्धको बलियो सञ्जाल निर्माण गरे । सानो उमेर, मिठो बोली र सबैसँग घुलमिल हुने बानीका कारण चालिसेले चाँडै नै सबैको विश्वास जिते ।
त्यसपछि सुरु भयो उनको असली खेल । आफू कार्यरत कार्यालयका मालिक अमेरिका गएपछि कार्यालयको जिम्मेवारी उनैको काँधमा आयो ।
हवाईमार्ग हुँदै तेस्रो मुलुकबाट आउने सामानको क्लियरेन्स गर्ने काम उनको जिम्मामा थियो । तर, विमानस्थल हुँदै वैध सामान मात्र आउँदैन थिए, तस्करीका मालसामान पनि भित्रिने गरेका थिए । त्यहीबाट चालिसेको सम्बन्ध तस्करहरूसँग गहिरिँदै गयो ।
नुनदेखि सुनसम्म, आँपदेखि भेपसम्म विमानस्थल हुँदै नेपाल भित्र्याउनुपर्ने जो–कोही अन्ततः चालिसेकै शरणमा पुग्ने अवस्था बन्यो । यति मात्र होइन, विमानस्थल भन्सारका कर्मचारी आफ्नो स्वार्थअनुसार फेरबदल गराउन सक्ने हैसियतसमेत उनले बनाइसकेका थिए ।
महानिर्देशकको रुपमा नारायण सापकोटा आएपछी खुल्लमखुल्ला सिण्डिकेट बनाएर व्यापारीहरूबाट रकम उठाउने, कर्मचारीहरूलाई बाँड्ने र आफूअनुकूल काम गराउने काम उनले वर्षौंसम्म गर्दै आएको उनलाई चिन्नेहरु बताउँछन् । यही पहुँच र प्रभावको आडमा उनले गैरकानूनी कारोबारमा संलग्न हुँदै अर्बौंको सम्पत्ति आर्जन गरेको बताइन्छ ।
त्यही क्रममा उनको सम्बन्ध सुन तस्करीमा नाम जोडिएका विवादित व्यापारी, तस्करहरुसँग पनि गाँसिएको खुलेको छ । उनीहरूका आयातित मालसामान क्लियरेन्स गर्ने काममा चालिसेको भूमिका रहने गरेको स्रोतको भनाइ छ ।
उनले आफ्नो कम्पनीमार्फत मालसमान क्लियरेन्स नगराउने व्यापारीहरुको समान राजस्व अनुसन्धान, विमानस्थलका कर्मचारी लगाएर समाउने, उनीहरुलाई दुःख दिने गर्थे । यसरी उनले आफ्नो माध्यमबाट मात्र काम गर्ने बाध्यात्मक स्थिती निर्माण गरेको उनीबाट पीडित एक व्यवसायी बताउँछन् ।
चालिसे भेप तस्करीमा समेत मुछिदै आएका छन् । भेपलाई खेलौनाको दरमा भन्सार गराउने र त्यसपछि नेपालमात्र होइन, तस्करीको माध्यमबाट भारतलगायत तेस्रो मुलुकसम्म पु¥याउने काममा समेत चालिसे सक्रिय रहेको बताइन्छ ।
चालिसेले नवराज कार्की, सन्तोष कार्कीलगायतसँग मिलेर संगठित रूपमा ठगीधन्धा र मिटरव्याजको कारोबार सञ्चालन गर्दै आएको पीडितले बताएका छन् ।
उनीहरूको समूहले आर्थिक संकटमा परेका तर मूल्यवान घरजग्गा भएका व्यक्तिहरूको खोजी गथ्र्यो ।
समस्या समाधान गरिदिने आश्वासन दिने, मिटरव्याजमा पैसा उपलब्ध गराउने र पछि दबाब, धम्की तथा प्रभाव प्रयोग गरेर घरजग्गा आफ्नो नाममा गराउने उनीहरूको शैली रहेको बताइन्छ ।
यति मात्र होइन, विभिन्न प्रलोभन देखाएर कैयौँ व्यक्तिको घरजग्गा अरूको नाममा पास गराई उनीहरूलाई विचल्लीमा पारिएको घटनासमेत बाहिर आएका छन् । गुण्डा नाइके चक्रे मिलनसँगको निकटता देखाएर धाकधम्की दिने कामसमेत उनीहरूले गर्दै आएको आरोप छ । यद्यपी चालिसेसँग चक्रे मिलनको प्रत्यक्ष चिनजान नरहेको बताइन्छ ।
त्यसैगरी चालिसेले वातावरणीय असरबारे अनुसन्धान नगरिकन नुवाकोटमा पर्यावरणिय रुपमा हानिकारक, बिवादित ईट्टाभट्टा समेत सञ्चालन गरेका छन् ।
नेपालमा कथित रूपमा अपराधको जालो बुन्दै कमाएको पैसा भने उनले विदेश पु¥याएको पाइन्छ ।
चालिसेमाथि गहन रुपमा अनुसन्धान गर्ने हो भने नेपालमा ठगी गरेको पैसाले अमेरिकामा घरजग्गा खरिद, पेट्रोल पम्पलगायत विभिन्न व्यवसायमा लगानी गरेको पुष्टि हुने ती पीडित बताउँछन् ।
नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सेटिङ मिलाएर ऋण निकाल्ने र त्यसको ठूलो हिस्सा हुण्डीमार्फत अमेरिका पुर्याउने गरेको जानकारी उनी निकट व्यक्तिहरूले नै दिएका छन् ।
उनले आईसिएफसी फाइनान्स लिमिटेडबाट आफ्नो प्रमुख कारोवार गर्दै आएका छन् । यसमा आईसिएफसीका उच्च तहका कर्मचारीले चालिसेलाई सघाउँदै आएको स्रोत बताउँछ ।
यता, चालिसेका भाइ दिनेश चालिसे पनि लागुऔषध कोकिनसहति पक्राउ परेका थिए । चालिसेले आफ्नो पहुँच र आर्थिक चलखेल गरेर दिनेशलाई धरौटीमा छुटाएका थिए ।
कोकिनजस्तो गम्भिर लागूऔषध मुद्दामा दिनेशसँगै पक्राउ परेका अन्य व्यक्तिहरु भने कारागार चलान भएका थिए । यस्तो गम्भिर मुद्दामा चालिसेले सेटिङ मिलाउन सफल भएको भन्दै पक्राउ गर्ने प्रहरीसमेत अचम्मित भएका थिए ।
यति धेरै आरोप र विवादका बाबजुद चालिसे हालसम्म पक्राउ परेका छैनन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
तर शक्तिको आड, प्रभावशाली सम्बन्ध र आफू निकट प्रहरी अधिकारीहरूको संरक्षणकै कारण उनी कानूनको पहुँचभन्दा बाहिर रहँदै आएका छन् ।