काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चाँडै नै नेपाल फर्किएर सरकारलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी डा. आरजु राणाले २ महिनाभित्र नेपाल फर्केर विभागको अनुसन्धामा सदायसतापूर्वक सहयोग गर्न तत्पर रहेको प्रष्ट पारेका छन् ।
विभागका महानिर्देशकलाई सम्बोधन गरेर पठाइएको ४ पेज लामो पत्रमा देउवा दम्पत्तिले साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी गराएका छन् ।
स्वास्थ्य उपचारका क्रममा रहेको अवस्थामा आफूहरूलाई ‘देश छाडेर भागेको, अनुसन्धानमा उपस्थित नभएको’ भन्ने जस्ता भाष्य सिर्जना गरेकोप्रति उनीहरुले दुःख व्यक्त गरेका छन् ।
पत्रमा पक्राउ पुर्जी जारी गरेर नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइयोस् भनेर अनुरोध समेत गरिएको छ ।
देउवा दम्पतीले उक्त पक्रमा भनेका छन्–‘हामी दुबै निवेदकहरू सार्वजनिक उत्तरदायित्वको पदमा बसेको र देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्री जस्तो जिम्मेवारी वहन गरिसकेको राजनीतिक व्यक्ति भएको हुनाले हाम्रो उद्देश्य कुनै प्राविधिक आधारमा हाम्रो विरुद्धको अनुसन्धानलाई रोकछेक, प्रतिरोध गर्ने नभई कानूनसम्मत, खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको छ । अतः आफ्नो निर्दोषित पुष्टि गर्नका लागि तहाँ उपस्थित भई अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रुपमै स्पष्ट गर्न चाहेका छौँ ।
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा गम्भिर आक्रमणमा परेका देउवा दम्पती नेपालको उपचारपछि २०८२ फागुन १३ गते सिंगापुर गएका थिए ।
देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखेको इमेलमा आफूहरुमाथि धरपकड नगर्न सर्वोच्च अदालतबाट जेठ ११ गते अन्तरिम आदेश भइसकेको पनि उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ–‘उक्त मुद्दामा अन्तरिम छलफलको क्रममा हाम्राविरुद्ध अनुसन्धान जारी रहेको, तथापी कसुर पुष्टि गर्ने कुनै ठोस प्रमाण नभए पनि नेपालबाहिर रहेको हुनाले नेपाल ल्याउने प्रयोजनको लागि इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गर्नुपर्ने बाध्यता रहेको भनी जिकिर लिएको कुरा हाम्रा कानून व्यवसायीहरूबाट जानकारी हुन आएको हुनाले यो निवेदन गरेको छु ।’