काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सिर्जना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसुरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा जमानीमा राखेर अनुसन्धान भइरहेको जनाउँदै त्यस विषयमा भ्रामक सूचना सिर्जना र प्रसारणरप्रकाशन नगर्न सबैलाई अनुरोध गरिएको बताए ।
परिसरले सोमबार जारी गरेको सूचनामा भनिएको छ, 'स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौंको कानुनी रायपरामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकाले भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रसारणरप्रकाशन नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।'
सिधाकुराले सार्वजनिक गरेको भिडिओ सामग्रीमा ओली र लेखकको मुद्दामा अनुसन्धान गर्न प्रहरीले जानजान लापरवाही गरेको दावी गरिएको छ ।
प्रहरीले बयान नै पूरा नगरी आफैंले उनीहरुलाई छोड्ने वातावरण बनाएको आरोप लगाइएको छ ।
