काठमाडौं । पछिल्लो समयमा आपराधिक गतिविधि नियन्त्रणका लागि उपत्यका प्रहरीले गुण्डागर्दी तथा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी प्रोफाइलिङ प्रक्रिया अघि बढाएको छ।
शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले हालसम्म कुल १ हजार ९७ जनाको आपराधिक विवरणको प्रोफाइल तयार पारेको जानकारी गराएका हुन् ।
विगतमा गुण्डागर्दी र विभिन्न अवैध गतिविधिमा संलग्न रहेका, पटक-पटक पक्राउ परेर मुद्दा खेपिसकेका तथा सामाजिक सञ्जालमार्फत समूह विस्तार र प्रचारमा सक्रिय व्यक्तिहरूको समेत प्रोफाइल तयार गरिएको छ।
प्रोफाइलमा सम्बन्धित व्यक्तिको फोटो, नाम, ठेगाना, पेशा, आपराधिक अभिलेख प्रणाली (सीआरएस) विवरण, उनीहरूको सम्बन्ध सञ्जाल, पारिवारिक पृष्ठभूमि, यात्रा इतिहास तथा अन्य आवश्यक कागजातहरू समावेश गरिएको प्रहरीले जनाएको छ।
उक्त विवरणले कुनै पनि आपराधिक घटना भएमा तत्काल कानुनी कारबाही अघि बढाउन सहयोग पुग्ने एसपी भट्टराईको भनाइ छ।
यसअघि पनि काठमाडौं परिसरले सञ्चालन गरेको ‘सेफ्टी काठमाडौं’ अभियानअन्तर्गत एकै दिन १९५ जनालाई नियन्त्रणमा लिइएको थियो। तीमध्ये केही व्यक्तिहरू धरौटीमा रिहा भएका छन् भने केही अझै प्रहरी हिरासतमा रहेको जनाइएको छ।
यस्तै बैङ्किङ कसुर, बकपत्र, चालचलन, मानिस हराएको निवेदन, शान्ति सुरक्षा र घरेलु हिंसा जस्ता समस्याको उजुरीमा उजुरकर्तासँग सम्पर्क स्थापित गर्न प्रहरी परिसर काठमाडौंले ६ महिना पहिलेदेखि नै फाइल ट्रयाटिङ्ग सिस्टम लागू गरिएको भट्टराईले बताए ।
फाइल ट्रयाकिङ्ग सिस्टम डेभलप गरेर ३० हजार ६ सय पटक फोन सम्पर्क, १७ सय म्यासेज र १५ सय ५० पटक इमेल गरेर उजुरकर्तासँग सम्पर्क स्थापित गरिएको बताए ।
उनले भने- 'पीडितहरूसँग फलोअपका लागी हामीले फोन, म्यसेज र इमेलमार्फत सम्पर्क गरेका छौँ ।'