एजेन्सी । मेडिकल विज्ञानले लामो समयदेखि पछ्याउँदै आएको ‘रिभर्स एजिङ’ (बुढ्यौली प्रक्रियालाई उल्ट्याउने) प्रविधि अब पहिलोपटक मानव परीक्षणको चरणमा पुगेको छ ।
उमेरसँगै कोषिकामा आउने क्षयलाई उल्ट्याएर पुनः युवा र सक्रिय बनाउने उद्देश्यसहित विकसित गरिएको इन्जेक्सन पहिलो बिरामीमा प्रयोग गरिएको छ ।
अमेरिकाको बोस्टनस्थित बायोटेक कम्पनी ‘लाइफ बायोसाइन्सेज’ले आफ्नो पहिलो मानव परीक्षणअन्तर्गत जलविन्दु (ग्लुकोमा) बाट पीडित बिरामीको एउटा आँखामा ‘सेल्युलर रिप्रोग्रामिङ’मा आधारित जीन थेरापी इन्जेक्सन दिएको जनाएको छ।
कम्पनीका अनुसार परीक्षणको मुख्य लक्ष्य उमेरका कारण कमजोर र निष्क्रिय बन्दै गएका कोषिकाहरूलाई पुनः युवा अवस्थातर्फ फर्काउने हो।
वैज्ञानिकहरूले आगामी ६ महिनासम्म बिरामीको स्वास्थ्य, उपचारको प्रभावकारिता तथा सम्भावित दुष्प्रभावको सूक्ष्म निगरानी गर्नेछन्।
यस थेरापीमा सुरुमा आँखाभित्र ‘सिंगल जीन थेरापी’ इन्जेक्सन दिइन्छ। त्यसपछि केही हप्तासम्म विशेष प्रकारको एन्टिबायोटिक औषधि सेवन गराइन्छ, जसले उपचारमा प्रयोग गरिएका तीनवटा जीनलाई सक्रिय बनाउने ‘अन स्विच’को रूपमा काम गर्छ।
ती जीन सक्रिय भएपछि कोषिकाहरूलाई पुनः प्रोग्राम गरी जवान अवस्थातर्फ फर्काउने प्रक्रिया सुरु हुने वैज्ञानिकहरूको विश्वास छ।
मानव परीक्षणअघि यही प्रविधि मुसा र बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको थियो। ती परीक्षणमा दृष्टि सुधारसँगै कोषिकाको कार्यक्षमतामा सकारात्मक प्रभाव देखिएको बताइएको छ।