काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापासँग पछिल्लो ३१ दिनदेखि कुनै पनि संवाद नभएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत खड्काले पार्टीभित्र एकता कायम गर्न आफूले पछिल्ला दुई महिनादेखि निरन्तर प्रयास गरे पनि अपेक्षित प्रगति हुन नसकेको उल्लेख गरेका हुन् ।
'सभापति गगनकुमार थापाजीसँग मेरो कुनै पनि प्रकृतिको संवाद नभएको आज ३१ दिन भयो। दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताका लागि इमान्दार प्रयत्न गर्दा पनि आजसम्म खासै कुनै प्रगति भएको छैन,' उनले लेखेका छन्।
खड्काले पार्टीभित्र क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाका नाममा दबाब सिर्जना गरिएको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले हालै केही दिनदेखि देशभरबाट सदस्यता सम्बन्धी विषयमा गुनासो र जानकारी आइरहेको पनि उल्लेख गरेका छन्।
उनका अनुसार १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यहरूलाई प्रक्रिया रोक्ने वा दबाब दिने प्रयास भएको आरोप छ, जसलाई उनले पार्टी जीवनका लागि “अत्यन्त घातक प्रवृत्ति” भनेका छन्।
खड्काले कुनै पनि बहानामा सदस्यहरूलाई महाधिवेशनमा भाग लिनबाट वञ्चित गर्न नपाइने स्पष्ट पारे ।