काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा भइरहेको ढिलाइप्रति कडा असन्तुष्टि जनाउँदै पार्टीभित्रैबाट हस्तक्षेप भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले संसदीय दलको नेता चयनमा देखिएको अन्योल र अस्वाभाविक ढिलाइलाई “दलको सार्वभौम अधिकारमाथि ठाडो हस्तक्षेप”को परिणाम भएको टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, 'नेता छनोटको कार्यमा देखिएको अस्वाभाविक ढिलाइ र अन्योल दलको सार्वभौम अधिकारमा ठाडो हस्तक्षेपको परिणाम हो। यो कार्य तत्काल बन्द गरियोस्।'
खड्काले पार्टी विधानअनुसार केन्द्रीय कार्यसमितिको समन्वय र सहजीकरणमा संसदीय दलका सदस्यहरूले सर्वसम्मत वा प्रतिस्पर्धामार्फत नेता चयन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको पनि स्मरण गराएका छन्।
उनका अनुसार दलको नेता चयनमा भइरहेको ढिलाइले पार्टीको छविमा नकारात्मक असर परेको छ। अन्य दलहरूले आफ्नो संसदीय दलको नेता चयन गरिसक्दा पनि कांग्रेस अझै निर्णयमा पुग्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।
हाल संसदीय दलको नेताका लागि अर्जुनरसिंह केसी, भीष्मराज आङ्दाम्बे र मोहन आचार्यले दाबी प्रस्तुत गरेका छन्।