काठमाडौं । नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न भारतसँग थप हवाई मार्ग (एयर रुट) उपलब्ध गराउन आग्रह गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले यो प्रस्ताव औपचारिक रूपमा राखेको हो। मन्त्री खनालका अनुसार हाल नेपाल प्रवेश गर्ने मुख्य हवाई मार्ग सिमराको एक मात्र बिन्दुमा सीमित भएकाले वैकल्पिक प्रवेश विन्दु र थप एयर रुट आवश्यक भएको छ।
'अहिले नेपाल छिर्ने हवाई मार्ग एउटा मात्र छ, सिमराको विन्दु। हामीले केही थप प्रवेश विन्दुहरूको माग राखेका छौँ। साथै पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि थप एयर रुट चाहिन्छ,' उनले भने।
उनका अनुसार दुवै देशबीच यस विषयलाई प्राविधिक रूपमा अगाडि बढाउन छिट्टै संयुक्त प्राविधिक समितिको बैठक बस्ने तयारी भएको छ।