काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको सीमा समस्यामा नेपालले कुनै पनि तेस्रो पक्षको मध्यस्थता नखोजेको स्पष्ट पारेका छन् ।
तीनदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमा विवाद समाधानका लागि नेपालले द्विपक्षीय कूटनीतिक संयन्त्रलाई नै प्राथमिकता दिने नीति दोहोर्याए ।
मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर उठेका प्रश्नबारे स्पष्ट पार्दै प्रधानमन्त्रीले पनि तेस्रो पक्ष मध्यस्थताको कुरा नगरेको दाबी गरे। उनका अनुसार सीमा सम्बन्धी विवाद तथ्य र प्रमाणका आधारमा वार्ता गरेर समाधान गर्ने नेपालको पुरानै र स्पष्ट नीति हो।
“प्रधानमन्त्रीजीले पनि तेस्रो पक्षको मध्यस्थता खोज्नुभएको छैन। सीमा सम्बन्धमा रहेका तथ्य–प्रमाणलाई अघि सारेर वार्ताबाट समाधान खोज्ने कुरा हो,” उनले भने।
उनले आफ्नो भारत भ्रमणका क्रममा पनि यही विषय स्पष्ट रूपमा राखिएको जानकारी दिए। नेपाल–भारतबीचका सबै सीमा विवाद द्विपक्षीय संयन्त्र, कूटनीतिक संवाद र आवश्यक परे थप उपयुक्त संयन्त्रमार्फत समाधान गर्न सकिने विषयमा छलफल भएको उनले बताए।
मन्त्री खनालले सीमा विवाद विश्वका धेरै देशमा लामो समयसम्म चल्ने समस्या भएको उल्लेख गर्दै नेपालले पनि ऐतिहासिक तथ्य र प्रमाणका आधारमा धैर्यपूर्वक आफ्नो अडान राख्दै आएको बताए।
उनका अनुसार भारतीय पक्षसँगको संवादमा समेत सीमा समस्यालाई निरन्तर उठाइएको छ र आगामी दिनमा हुने सबै औपचारिक छलफलमा यो विषय प्राथमिकतामा रहनेछ।