कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको छ ।
स्रोतका अनुसार दुई वर्षदेखि सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन मन्त्री तथा एक राज्यमन्त्री नियुक्त गर्ने निर्णय गरिएको हो ।
एमालेले प्रदेशसभा उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, सांसद दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने तयारी गरेको स्रोतले जनाएको छ । उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा समेत पुगिसकेको बताइएको छ ।
स्रोतका अनुसार सन्तोष शर्मा थापालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइनेछ भने दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्नेछन्।
त्यस्तै चक्र मल्लले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन् भने जानकी ऐर बम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त हुने तयारीमा छन् ।
मुख्यमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम भोलिसम्म सम्पन्न हुन सक्ने सम्भावना रहेको छ।
हाल एमालेको तर्फबाट सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री, वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन्। उनीहरूलाई फिर्ता बोलाउने निर्णय भएको स्रोतको दाबी छ ।
यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पनि सरकारबाट फिर्ता बोलाउने तयारी गरिएको बताइएको छ ।
कांग्रेसले पनि सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई हेरफेर गर्ने हिजो नै निर्णय गरिसकेको थियो । यससँगै मुख्यमन्त्री कमल बहादुर शाह बाहेक सबै मन्त्रीहरु परिवर्तन हुने भएका छन् ।